Saturday, March 16, 2013

भ्रातृ संगठन र भ्रष्टाचार


(कान्तीपुर दैनिक, शुक्रबार, चैत २, २०६९ मा प्रकाशन भएको )



जब राज्य पूर्णरूपमा भ्रष्टाचारमा लिप्त हुन्छ, शारदा भुसालजस्ता अभियन्ताको भ्रष्टाचार विरोधी आमरण अनशनको औचित्यमाथि प्रश्न उठाइन्छ । प्रायःजसो नेपाली ट्विटेहरूले मलाई त्यस्तै प्रश्न सोधे ।
राज्य जति नै खराब होस्, जति नै निर्य होस्- त्यसको मतलब यो होइन कि जनता पनि त्यस्तै खराब र निर्य होउन् । नेपालीहरू ज्ञानी र भद्र स्वभावका हुन्छन्, इतिहासले देखाएको पनि छ । थुप्रै अप्ठेरा झेलेर भए पनि हामीले आपसमा सद्भाव राख्न सफल भएका छौं । त्यसैले राज्य जस्तो होस्, आफूले राम्रो सोच राखेर देशका खातिर गरेको कुनै पनि कार्य औचित्यहीन हुँदैन । परिणाम देखिनु, नदेखिनु गौण विषय हो ।
शारदा भुसालबारे केही समयअघि मैले एउटा लेख लेखेको थिएँ । उनी भ्रष्टाचार विरोधी अभियानकी प्रतीक हुन् र हामी नेपाली समर्थक । भर्खरैको उनको आमरण अनशन प्रकरणले यो पुष्टि गर्छ कि शारदाजी यो जिम्मेवारी स्वीकार्न पूर्णरूपले तयार छिन् । नत्र देशमा जराझैं गाडिएको भ्रष्टाचार निर्मूल पार्न हामीमध्ये कतिजना तयार छौं, जो यसरी आमरण अनशनमा बस्न सहजै स्वीकार्छौं ? देशका लागि मर्न कतिजना तयार छौं ?
भ्रष्टाचारजस्तो संक्रामक किरा मार्न राज्यले कीटनाशक छर्न किन सक्दैन ? नेताहरूले भ्रष्टाचार विरोधी अभियानलाई यति साधारण नजरले किन हेर्छन् ? एउटै कारण हो- प्रायः नेपालीहरू कुनै न कुनै रूपले राजनीतिक दल र तिनका भ्रातृ संगठनसँग आबद्ध छन् र ती संगठन भ्रष्टाचारमा डुबेका छन् ।
भ्रष्टाचारले अहिले मुख्यतः राजनीतिलाई छोएको छ, अर्थात राजनीतिक दलहरू यसमा जकडिएका छन् । राजनीतिक दलहरूले आफ्ना आयस्रोत कि देखाउँदैनन् अथवा देखाइहाले पनि धेरै तथ्य लुकाएर केही अंशमात्र सार्वजनिक गर्छन् । प्रायः दलको आर्थिक उपार्जनको बाटो कि त चन्दा असुली हो, कि आफ्ना भ्रातृ संगठन । भ्रातृ संगठनले रकम जुटाउने भनेको टेन्डर कब्जा, चन्दा, धम्की लगायत माध्यमबाट हो । कतिपय दलका भ्रातृ संगठन विभिन्न तस्करीमा संलग्न रहेका खबर पनि पटक-पटक सार्वजनिक हुने गरेका छन् । युनियनको ठाडो शक्ति चलाएर, मार्ने धम्की दिएर पनि धेरै संगठन र तिनको नेतृत्व आर्थिक रूपमा बलियो बनेका दृष्टान्त हामीसामु छन् । सिधा औंलाले घिउ निस्कन्न भन्ने मनोवृत्तिबाट लिप्त मानसिकताले यस्तो प्रवृत्ति बढेको हो ।
विद्यार्थी युनियन र शिक्षक युनियनले कलेज विश्वविद्यालयसँग, ट्रेड युनियनले कलकारखानासंँग, कर्मचारी युनियनले आफूसम्बद्ध कार्यालयसंँग 'सहयोग' माग्ने र नदिए अनेक हत्कण्डा अपनाउने प्रवृत्ति संस्कृति बनिसकेको छ । त्यसको केही हिस्सा सम्बन्धित संगठनले प्रयोग गरे पनि मुख्य हिस्सा माउ दलहरूलाई जान्छ, जसले उनीहरूको पालनपोषण गर्छ । त्यसैले राजनीतिक दलहरू सधैंजसो भ्रातृ संगठनलाई पुलपुल्याएर राख्छन् र भ्रष्टाचारलाई सहयोग र समर्थन गर्छन् । जनमानसमा गएर विचार बुझ्ने हो भने त्यस्ता भ्रातृ संगठनले गरेका राम्रा काम सम्झनलायक नगन्य छन्, तर उनीहरूले गरेका नराम्रा कार्य सबैलाई सम्झना हुन्छ । र नियालेर हेर्ने हो भने बन्द-हडतालमा सरिक हुनु, तोडफोड र विनशजन्य कार्य गर्नेभन्दा माथि प्रायःजसो भ्रातृ संगठनहरू खासै उठ्नै सकिरहेका छैनन् ।
यदि माथिको तर्क मान्ने हो भने अब प्रश्न उठ्छ- के नेपालजस्तो कमजोर अर्थतन्त्र भएको मुलुकमा राजनीतिक भ्रातृ संगठनको औचित्य छ त ? वर्गीय हकहितका लागि खोलिने संगठनहरू चाहिन्छन्, यसमा कसैको दुईमत नहोला । तर अहिलेको अवस्थामा यति धेरै राजनीतिक दलहरू भएको देशमा त्यत्तिकै संख्यामा भ्रातृ संगठन हुने देशलाई फाइदा गर्छ कि बेफाइदा ? यस्ता भ्रातृ संघ-संगठनले सामाजिक विकासको पक्षमा काम गर्नुपर्ने हो, नैतिकताको हिसाबले । तर राजनीतिक रंग लागेपछि उनीहरू आफ्नै दल र त्यसका सीमित मठाधीशको पक्षमा अन्धभक्त भएर लाग्छन् । नेपालमा यो परिपाटी धेरै वर्षदेखि विद्यमान छ । अहिले सहमतिमा अड्नै नसक्ने यो देशका राजनीतिक दलहरूले आफ्ना भ्रातृ संगठनलाई नत ठीक उद्देश्यले चलाउनसकेका छन्, न उनीहरू आफै चलेका छन् । त्यसैले यस्ता भ्रातृ संगठनको औचित्य नै देखिन्न ।
सिधा तर्क गर्ने हो भने राजनीतिक झण्डा बोकेका भ्रातृ संगठनले देशलाई बेफाइदामात्रै गरिरहेका छन् । भ्रष्टाचार फस्टाउनुको मुख्य कारक बनिसकेका यस्ता भ्रातृ संगठन नै किन चाहिन्छ, यदि हरेक राजनीतिक दलका उद्देश्यहरू राम्रा छन् भने ? किन राख्नुपर्‍यो, देशमा अनगिन्ती ट्रेड युनियन, जबकि कामदार हकहितको समान उद्देश्य भएको एउटै महासंघले सबै काम गर्नसक्छ भने ? त्यसमाथि वैचारिक हिसाबले विभाजित शिक्षक र विद्यार्थी र प्राध्यापक युनियनले पनि शैक्षकि विकासमा कहिल्यै योगदान दिएनन् । स्कुल, कलेजमा यसरी राजनीति छिर्दा कसरी विद्यार्थीहरू अहिलेको विश्वमा प्रतिस्पर्धी बन्न सक्लान् ? राजनीतिको खोक्रो आदर्श बोकेर कक्षामा पाठ पढाउने शिक्षकले कसरी त्यस्ता प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्न सक्लान् ?
अब माथिको तर्कमा फकिर्ने हो भने प्रस्ट हुन्छ- किन शारदा भुसालजस्ता देशप्रेमी र भ्रष्टाचार विरोधी नागरिकसंँग दल र नेताहरू डराउँछन् ? राजनीतिक भ्रातृ संगठनको पहिरन ओढेर हिँड्ने कार्यकर्ता किन आउँदैन आन्दोलनमा सरिक हुन ? र किन उल्टो भुसालजस्ता अभियन्तालाई विभिन्न आरोप लगाई आन्दोलन निष्त्रिmय पार्न खोज्छन् उनीहरू । महोत्तरीदेखि काठमाडौसम्म यस्ता जमात छ्यापछ्याप्ती छन्, जसका लागि भ्रष्टाचार फाइदाजनक छ, जसले यसको पुरापुर फाइदा लिइरहेका छन् । व्यक्तिगत र पार्टीगत स्वार्थमा अल्मलिएका यी नेपालीहरूलाई सायद देशको माया एकरत्ति छैन होला । होस् पनि कसरी ? देशप्रेमले त मानिसलाई व्यक्ति र पार्टीभन्दा माथि र भ्रष्टाचारबाट परै राख्छ ।
हामी नागरिकहरूले जबसम्म यस्ता प्रश्न गरिरहँदैनौं, तबसम्म राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूले देशलाई चुसिरहनेछन् र देशवासीले मिहेनतले कमाएको आय उनीहरूको संरक्षणका लागि जानेछ । हामीले हातनंग्राले तिरेको कर देश विकासमा नगई भ्रष्टाचारीको जालमा फस्नेछ । मिहेनतको कमाइ खेर गइरहनेछ, जनता कंगाल भइरहनेछन् । सहेर बस्ने हो भने जे कुरा पनि ठीकै लाग्छ, आशैआशमा बित्छ जीवन । एक्लैले कराएर केही हुँदैन भन्ने गलत मनोवृत्ति पनि यसको कारक हो । तर जाँदाजाँदै एउटा कुरो याद दिलाउँछु- शारदा भुसाल पनि सुरुमा एक्लै भ्रष्टाचार विरोधी रणभूमिमा उत्रिएकी हुन् । त्यसको प्रभाव विस्तारै देखिँदैछ र आशा गरौं, छिट्टै त्यसको परिणाम पनि देखिनेछ । एउटा नागरिक लागिपरेकी छिन्, भ्रष्टाचार निर्मूल पार्न । नेपाली भएर नकि कुनै राजनीतिक दल विशेषको झण्डा बोकेर ।