Thursday, January 19, 2012

नेपाल खुल्ला छ ?

(माघ ४ २०६८ मा कान्तीपुर दैनिक मा प्रकाशीत लेख, लिंक: http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=261676)
पर्यटक वर्ष २०११ भनेर खुब हल्लाखल्ला गरियो । तर तिनै पर्यटक अतिथिहरूलाई दुःख पनि दिनसम्म दिइयो, हाम्रो देशमा । 

विमानस्थलमै किडन्याप शैलीमा आफ्ना ट्याक्सीतर्फ तान्दै आतंकित गरियो । होटलमा बसेकालाई आन्दोलनको निहुँमा होटल बन्द गराएर अन्यत्र जान बाध्य गरियो । हवाइजहाज चढ्नेहरूलाई पहाडमा ठोकाइयो र यो लोकबाट विदा नै गरियो । ट्रेकिङ गरेकालाई लुटियो । राति सहरमै घुम्न नसक्नेगरी लोडसेडिङको मारमा अलपत्र पारियो । बाटोघाटोबाट देश हेर्न खोज्नेलाई बाटो बन्द र चक्काजामले त्रसित गराइयो । 

कुनै पनि देश किन घुम्न जाने ? त्यहाँको कला, संस्कृति, जीवनशैली र वातावरण र प्राकृतिक थलोहरू हेर्न त्यस देशका सहरहरूमा रमाउन । वरिपरि घुम्न । देशवासीहरूसँग भेटघाट गर्न र रमाइला सम्झनाहृ फिर्ता लिएर जान । हाम्रो देशमा त आएकालाई पनि तर्साएर भगाउन खोजियो । हरेक किसिमबाट हेर्दा संसारको अगाडि नेपाललाई यसरी चिनाइयो, नेपाल बन्द छ र यहाँ केही चल्दैन । चल्यो भने यसलाई रोक्न खोज्नेहरूको होडबाजी छ । ठूलठूला राजनीतिक नेताहृदेखि बाटोमा तास खेलेर रम्ने स्थानीय गुन्डाहरूसम्म । यहाँ आउनुभन्दा अन्यत्रै जानु राम्रो । 

पर्यटकहरूको मात्र कुरा छोडिदिउँन त । नेपाललाई माया गर्ने कुनै व्यक्ति वा समूहले देशलाई हानि गर्ने कार्य गर्छ होला त ? एकपटक सोचौं त । बन्दले सिवाय केही स्वार्थी समूहलाई बाहेक कसलाई राम्रो गर्छ ? बन्दमा अड्किएर, समयमा साधारण औषधी र चाहिने उपचार नपाएर कतिको ज्यान जान्छ । कतिको समयमा काममा नपुगेर जागिर खोसिन्छ । कतिको रोजीरोटी हराउँछ । र दुःख पाउने र मर्ने ती सबै आफ्नै नेपाली दाजुभाइ, दिदीबहिनीहरू । त्यसो भए कसले गर्छ त देश बन्द । उत्तर हो, देशद्रोहीहरूले । देशलाई बन्द गरेर सारा देशवासीहरूलाई आफ्नो स्वार्थको कारण दुःख दिने जोकोही हुन्, देशद्रोही नै हुन् । यस्तालाई हाम्रो देशमा ठाउँ छैन । यिनीहरू कायर र काँतर पनि हुन् । किनभने यिनले समस्याको जडलाई त छुन पनि सक्दैनन् । तर त्यही रिस निमुखा जनतामाथि फेर्छ । यस्तालाई नेपाल ले आफ्नो भन्नु कुनै कारण छैन । यिनीहरू नेपाली कहलाउन लायककै छैनन् । 

किन त बोल्दैन, हाम्रो सरकार यस विरुद्ध । किन भन्दैनन्, कोही नेता कि यसरी जनतालाई दुःख दिनु गलत हो । किन बन्द गर्न गराउनेलाई रोक्न खोज्दैन, हाम्रो गृह प्रशासन ? भनिन्छ, सानो आगो समयमै रोकिएन भने यो भयानक रूप लिएर आउँछ । अहिलेका दिनहुँजस्तै हुने बन्द र चक्काजाम हेर्दा सानो होला, तर यसले जनताको संयमताको सीमा छिटै भंग गर्न सक्छ । र यदि यो कुराबारे नेपाल सरकारले केही गर्न सकेन भने जनता स्वयम्ले अवस्था आफ्नै हातमा लिनेछन् र यसबाट नराम्रा घटनाहरू घट्न पनि सक्नेछन् । विडम्बना, हालसम्मका घटनाक्रमले यो अङकित गरिरहेको छ, सरकारले सकेको छैन या चाहेको छैन, केही गर्न यसका कारण ? भ्रष्टाचारले लिप्त छ, देशको हरेक निकाय । बोल्यो कि पोल्यो भन्दै पन्छिन्छन् सबै, किनकि सबै बिटुला छन् । गलत कुरा विरुद्ध बोल्नु पनि त महानता हो । तर महानता किनेर पाइन्न । यो देशमा त अब हरेक चिजको मूल्य छ, सबै चिज किनेर आर्जन गर्न परिपाटी बसिसक्यो, महानता त अब हराइसक्यो । यस्तो अवस्थामा कसले बोल्ने । एकदमै थोरै नेताहरू, आत्मसम्मान देखिन्नन्, यहाँका देश चलाउने धेरैजसो शक्तिहरूमा । केही, अलिकति पनि नेपालको माया झल्किन्न, उनीहरूको कार्यशैलीमा । देशको विकासभन्दा व्यक्तिगत उपलब्धि महत्त्वपूर्ण ठान्छन् कतिपय ।

ट्विटरहरूमा पढ्छु, फेसबुकमा देख्छु, आजका युवा जमातमा असन्तुष्टि व्यापक छ, धेरै कुरासँग । बन्द, हडताल र असहज परिस्थितिबाट मर्माहत भएका यी देशका शक्ति कहिले यो देश छोडेर आफ्नो भविष्य मजबुत बनाउन पाइन्छ भन्दै समय पर्खेर बसेका छन् धेरै । तर उनीहरूलाई के भनेर सान्त्वना दिने, त्यो हामी देश बनाउन बसेकालाई पनि राम्ररी थाहा छैन । उदाहरणस्वरूप आफूलाई उनीहरूसामु उभ्याउन खोजिन्छ, बस त्यति नै । यस्ता नौजवान पौरखहरू देशबाट लोप हुँदै गएको देख्दा किन हाम्रा देश चलाउने शक्तिहरूको आँखामा एक थोपा आँसु पनि देखिन्न र किन उनीहरू आत्तिदैनन्, त्यो पनि बुझिनसक्नु छ । 

अहिलेको नेपालको व्यथा भनेकै फस्टाइरहेको भ्रष्टाचार हो । हरेक समस्याको यो नै एक भयंकर जड हो । र यसलाई उखेल्न कुनै पनि निकाय खासै तल्लिन देखिन्न ।  तर वरिपरि जेजस्ता गलत कामहरू भइरहेका छन् नेपालमा, प्रायः भ्रष्टाचार निवारणद्वारा नै सुल्झाउन सकिन्छ । तर यसतर्फ लाग्ने को ? गर्न खोज्ने आफैं सफा हुनुपर्‍यो र यसका लागि हाम्रो आफ्नै अन्ना हजारेहरू खोज्नुपर्‍यो ।  नेपालमा त्यस्ता हजारेहरू नभएका होइनन् । तर उहाँहरूले हार खाएर मौन बसेको भान भइरहेको छ । वर्षौंदेखिको मिहेनतको अपरिणामबाट सायद थकित हुनुभएको होला । राम्रो काम गर्न खोज्दाखोज्दै पनि स्वार्थको लागि बन्चरो हान्नेहरूसँग लड्न नचाहेर होला । व्यक्ति विशेष रिसइवी गर्नेहरूको लान्छना सहन नसकेर होला । तर भ्रष्टाचार विरोधी अभियानमा लाग्ने हो भने अहिलेको मनपरीतन्त्रको स्थिति रोकथाम गर्न हामी जनतालाई सजिलो हुने थियो । 

नेपाललाई यस्ता नागरिक नेताहरू चाहिएको छ । आफ्नो देश पहिले त्यसपछि मात्र अरू कुरा भन्ने नेताहरू चाहिएको छ । बन्दलाई बन्द गर्न चाहने नेताहरू हामीलाई चाहिएको छ । 

हुन त नेपाल यहीं छ । यतै कतै लुकाइएको छ । बन्दी बनाइएको छ । देखिन झन्झन् गाह्रो हुँदैछ । नेपाल बन्द छ कि खुल्ला ? कसलाई सोध्ने हो कुन्नि ?