समीरमणि दीक्षित

(अन्नपू्र्ण पोष्टमा प्रकाशित, श्रावण २७, २०७० / August 11, 2013) : http://annapost.com/opinion/news3279

काठमाडौंलगायत देशका विभिन्न कुखुरापालन उद्योगमा हालै देखिएको एभिएन इनफ्लुएन्जा (H5N1) संक्रमण र भर्खरै यहीबेला भक्तपुर आसपासमा स्वाइन इन्फ्लुएन्जा (H1N1) देखिनुले नेपालमा डरलाग्दा संक्रमणको बढ्दो क्रम झल्काउँछ। मानिसका लागि घातक हुनसक्‍ने यी संक्रमण, र दुवै आपसमै! सरकारी निकायअनुसार, सतर्कता अपनाउँदाअपनाउँदै पनि यस्ता सरुवा रोगका संक्रमणकिन बारम्बार देखिन थालेका छन् यहाँ, र के यिनलाई रोक्‍ने अवस्था हामीमाझ छन् त?

संक्रमणका कारण धेरै हुन सक्छन्-व्यक्तिगत स्वास्थ्य व्यवहारदेखि सरकारी निगरानीसम्मका विषय यसभित्र पर्न सक्छन्। संक्रमण रोक्‍न गाह्रो छ। तर केही हदसम्म नियन्त्रण गर्न नसकिने भने हैन। यसको लागि संक्रमण सुरु भएपछि हैन, सुरु हुनसक्‍ने समयतिरै पर्यवेक्षण (सर्भेलेन्स) र अनुसन्धान (रिसर्च) गर्नु जरुरी हुन्छ। यी दुई कार्य एक किसिमले नङ र मासु झैं हुन्- एकलमा जति कमजोर हुन्छन्, साथमा त्यत्तिकै बलिया हुन्छन्। जैविक प्रविधि विज्ञान (बायोटेक्नोलोजी अथवा बायोमेडिकल साइन्स) ले जनस्वास्थ्य विज्ञान क्षेत्रमा सरुवा रोग नियन्त्रणका लागि खेल्ने एउटा महत्त्वपूर्ण भूमिका यो पनि हो।

अहिलेको अवस्थामा केही हदसम्म पर्यवेक्षणका कार्य छिटफुट हिसाबमा भए पनि अनुसन्धानका कार्य न सरकारी निकायले महत्त्वका साथ लिएको छ, न अस्पताल र विश्वविद्यालयहरूले। यहीकारण आजको दिनमा पनि हामीलाई नयाँ संक्रमण आयो भने त्यो पहिचान गर्न हम्मेहम्मे पर्छ र विदेशी दाता र संस्थाहरूको मुख ताक्‍नुपर्छ। आफ्नै देशभित्र क्षमता वृद्धि गर्नेतर्फ खासै कसैको ध्यान गएको छैन। सरकारी निकाय, विशेषगरी जनस्वास्थ्यसँग सम्बिन्धित र पशुसेवा सम्बन्धित निकायको यसमा कमीकमजोरी देखिएको छ। नेपालमै नयाँ र पुराना संक्रमण पहिचान गर्न सकेको खण्डमा दुईतीन दिन बच्‍न जान्छ र तुरुन्तै नियन्त्रणका कार्य सुरु हुन्छन्। सरुवारोग संक्रमणमा पहिचान जति छिटो हुन्छ, त्यति जनधन र जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सकिन्छ। अहिले पनि नेपालमै धेरैभन्दा धेरै जनावर र मानवमा पहिचान र नेपालकै प्रयोगशालामा यसको पुष्टि गर्न नसक्‍नु र संक्रमणविरुद्धको लडाइँमा पछाडि पर्नु सरकारको ठूलो कमजोरी हो।

अनुसन्धानको कुरो आएको छ। अनुसन्धान गर्नुका मुख्यत: दुई कारण हुन्छन्। पहिलो, प्रमाणसहितको उत्तर खोज्‍न, जसबारे हामीलाई धेरै सूचना छैन। जस्तै, यो देशमा देखिरहने संक्रमण नियन्त्रण गर्न चाहिने प्रमाण जुटाउन। दोस्रो, देशका नियमकानुन बनाउनेलाई प्रमाणसहितको सूचना दिन, जसबाट परिणाममुखी नियम अथवा कानुन ल्याउन मद्दत होस्। अनुसन्धानले प्रमाणप्रति ध्यान दिँदैन भने त्यसको महत्त्व घट्छ र यसले देश र विज्ञानलाई सघाउँदैन।

नेपालमा जनस्वास्थ्य क्षेत्रमा अनुसन्धान नभएका हैनन्। दाताको पहलमा केही क्षेत्रमा केही अनुसन्धान भएका देखिन्छन्। विगत ५-१० वर्षको क्रम हेर्ने हो भने त भएका त्यस्ता अनुसन्धानका दस्तावेज प्रशस्त पाइन्छन्। वैज्ञानिक दस्तावेज (पब्लिकेसन) को रूपमा परिणत भएको भने पाइन्न। स्वास्थ्य निकायले पनि आआफ्ना क्षेत्रमा केही हदसम्म सानातिना अनुसन्धानमूलक कार्य अगाडि बढाइरहेको देखिन्छ। विशेषगरी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले देशमा हुने जनस्वास्थ्यसम्बन्धी अनुसन्धानलाई निकै टेवा पुर्‍याएको छ, जुन स्वागतयोग्य छ।

जनस्वास्थ्य अनुसन्धान धेरै प्रकारका हुन्छन्, तर मूलत: दुई भागमा विभाजन गर्न सकिन्छ। प्रयोगशाला र उपकरण चाहिने, जसलाई बायोमेडिकल अनुसन्धानको छाताभित्र राख्‍न सकिन्छ। र, जनसमुदायमा गएर प्रश्नावलीमार्फत गरिने अनुसन्धान, जसलाई विभिन्न नामाकरण गरिएका छन्- उदाहरण, सोसल, फोरम्याटिभ, क्वालिटेटिभ, इन्टरभेन्सन इत्यादि। यसको मतलब अरू प्रकारका अनुसन्धान हुँदैनन् भन्न खोजेको हैन। तर नेपालमा हुने भनेका मुख्यत: माथि उल्लेख गरिएको दोस्रो प्रकारको अनुसन्धान हो।

हालै नेपालमा देखिन थालेको (क्रम जारी छ, रोकिएको छैन) एभियन इन्फ्लुएन्जा र स्वाइन इन्फ्लुयन्जा संक्रमणमा पर्याप्‍त अनुसन्धान नहुनाले पनि यहाँ नियन्त्रण गर्न गाह्रो छ। भएका प्रयोगशालामार्फत पर्याप्‍त अनुसन्धान नहुँदा, नयाँ प्रकारका भाइरस (विषाणु) समाजमा आइसकेको अवस्थामा पनि पहिचान गर्न नेपालमा अप्ठेरो छ। सरकारी निकाय देशभित्रैका संयन्त्रको उपयोग (निजी र अन्य) गर्नुको साटो विदेशी संयन्त्रको सदुपयोग गर्नमा बढी महत्त्व राखेको देखिन्छ। जबसम्म देशभित्रै रहेको प्रयोगशालाको संयन्त्रलाई सक्षम बनाइँदैन, बायोमेडिकल अनुसन्धान कहिल्यै अगाडि बढ्न सक्दैन। र बायोमेडिक अनुसन्धानबिना देशभित्रबाट बाहिरिने र बाहिरबाट भित्रिने जीवाणु, विषाणुको पहिचान र तीबारे नयाँ ज्ञान आर्जन गर्न सकिन्न।
नेपालमा इन्फ्लुएन्जाबाहेक अन्य सरुवारोग देखापर्दै आएका छन्, जस्तै- एचआईभी, हेपाटाइटिस, हैजा, कुष्ठरोग, मलेरिया, जापानिज इन्सेफलाइटिस इत्यादि। विडम्बना यी सबैमध्ये धेरैबारे हामीलाई खासै वैज्ञानिक तथ्य थाहा छैन। जे जानकारी छ, त्यो मात्र सीमित अनुसन्धानको आधारमा छ र त्यो पनि छरिएको अवस्थामा छ। उदाहरणका लागि नेपालमा कुन प्रजातिका इन्फ्लुएन्जा कुन समयमा कहाँ देखिँदै आएका छन्? यो प्रश्नको जवाफको लागि नेपालमै अनुसन्धान हुनुपर्ने हो, तर भएको छैन। के कस्ता पशुपन्छीमा कस्ता इन्फ्लुएन्जा भाइरस पाइन्छ नेपालमा? त्यो पनि हामीलाई थाहा छैन। त्यस्ता अरू धेरै अनुसन्धानात्मक प्रश्न उठाउने हो भने हामी रोग नियन्त्रणमा किन यति कमजोर भएका हौं, त्यो प्रकट हुन्छ। यस्ता वैज्ञानिक जिज्ञासा जबसम्म जनस्वास्थ्य क्षेत्रमा उठाइन्न, देश सरुवा रोगको समाधानतर्फ उन्मुख हुनै सक्दैन।

सरकारले बर्डफ्लु चरामा देखिँदादेखिँदै पनि कुखुराको किनबेच फुक्‍का गर्ने जुन निर्णय गर्‍यो, त्यो जोखिमपूर्ण र चरम लापरबाहीको संज्ञा दिन मिल्ने निर्णय हो। अनुसन्धानले देखाइसकेको छ, फ्लु (इन्फ्लुएन्जा) भाइरस शरीरमा केही समय लुकेर (डरमन्ट) बस्‍न पनि सक्छ। त्यसमाथि पहिचान नहुनु भनेको भाइरस जीउभित्र नभएको भनेर पनि भन्न मिल्दैन किनभने कहिलेकाहीँ भाइरसको मात्रा सुरुमा कम भएको बेला यसलाई पहिचान गर्न गाह्रो हुन सक्छ। हालै चीनको एउटा प्रान्तमा चराचुरुंगीमा पहिलेदेखि नै देखिँदै आएको इन्फ्लुएन्जा भाइरस (H7N9) पहिलोपटक चराबाट मानिसमा सरेर एकै परिवारमा बाबुले छोरीलाई सारेको कारण दुवैको मृत्यु भएको छ। यस्तै अवस्था (H5H1) मा हुन सक्दैन भन्ने कुनै केही कुखुरामा भाइरस पहिचान नभएकैले संक्रमण कम भएको हल्ला फैलाउनु र किनबेचमा फुक्‍का गर्नु कतिसम्म मूर्खता हो, त्यसको लेखाजोखा आउँदा दिनले गर्लान्। आशा गरौं- यसको परिणाम अशुभ नहोस् देश र जनताको लागि।
दीक्षित सेन्टर फर मलेक्युलर डाइनामिक्स नेपालका राष्ट्रिय निर्देशक र जनस्वास्थ्य वैज्ञानिक हुन्।