Sunday, December 22, 2013



वैद्य तान्न तँछाडमछाड
मोहन वैद्य ‘किरण’ ले जनतासामु स्विकारे, ‘चुनाउ बिथोल्न गरिएको बन्दको दौरान बम हामीले नै फालेका हौं।’ सर्वसाधारणका लागि गरिएको हो रे यो महान् कार्य। लाज लाग्दैन नेताज्यू, यस्तो गैरजिम्मेवार आपराधिक अभिव्यक्ति दिन? सर्वसाधारणमाथि यस्तो आक्रमण गर्न वैद्यलाई कसले हक दियो? के राजनीतिक विचारका आधारमै यस्तो आपराधिक क्रियाकलाप गर्न पाइन्छ? नेकपा-माओवादी दलभित्र सबै मोहन वैद्य, रामबहादुर थापाहरू जस्ता विचारधाराकै छन् त? त्यसो हो भने सर्वसाधारणले यो दललाई एक संगठित आतंककारी गिरोहभन्दा अरू कुनै नजरले नहेरे हुन्छ।
आफैंले विरोध गरेको निर्वाचनमा जुन किसिमले नेकपा-माओवादीलाई सर्वसाधारणले जवाफ दिए, त्यो लेखिराख्न जरुरी छैन। वैद्यले त यसबखत राजीनामा दिनुपर्ने हो किनभने उनले यस समूहको नेतृत्व सम्हालेका छन् र यसबखत आफ्नो समूह सर्वसाधारणसामु लज्जास्पद र हास्यास्पद अवस्थामा देखापरेको छ। जुन निर्वाचन बिथोल्न खोजियो, त्यही निर्वाचनमा सर्वसाधारणले आफ्नो विचार मतबाटै दिए। यस कुरामा भने हामी गर्व गर्न सक्छौं। आफ्न विचार परिवर्तन गर्दै सर्वसाधारणले साँच्चै के चाहेका रहेछन्, त्यो वैद्यहरूले बुझ्नतिर लाग्नुपर्ने हो र सर्वसाधारणसामु माफी माग्नुपर्ने हो। यथार्थमा यो होला त? हुँदैन भने समय आएको छ सोच्ने- सर्वसाधारणलाई मतदान गर्नबाट रोक्न खोज्ने समूहलाई फेरि संविधान र सरकारमा राख्न हामीले आफ्नो अमूल्य मत दिएका थियौं त?
एलिनोर रुजभेल्ट (पूर्व अमेरिकी राष्ट्रपति फ्राङकलिन रुजभेल्टकी पत्नी) ले एउटा भनाइ राखेकी थिइन्, जुन मेरो मनमा दिनहुँजसो गुन्जिरहन्छ। त्यसको नेपाली अनुवाद यस्तो थियो- महान् व्यक्ति नयाँ विचारबारे छलफल गर्छ। साधारण व्यक्ति सानातिना घटनाबारे छलफल गर्छ। तुच्छ व्यक्ति अरू व्यक्तिबारे छलफल गर्छ।
यहाँका दलहरूमा के कस्ता विचारधारा छन् भन्ने सर्वविदितै छ- राष्ट्रपतिको लागि झगडा, प्रधानमन्त्री कसले पाउनेबारे कुस्ती, मुख्य मन्त्रालयमा कसरी पकड जमाउने आदि आदि। यस्ता मुद्दामा अल्मलिरहेका छन् दलहरू। देशलाई संविधान कसरी सकेसम्म छिटो दिने, कस्ता-कस्ता विकास आयोजना भित्र्याउने, बिदेसिएका हाम्रा जमातलाई फिर्ता ल्याएर उनीहरूको सदुपयोग गर्ने, विज्ञान प्रविधि उकास्ने, देशलाई माथि उचाल्ने जस्ता विचार गर्ने नेताहरू अझै देख्न बाँकी नै छ यो देशमा। यहाँका दलहरूको वैचारिक कब्जियतलाई महानताको संज्ञा कुन हिसाबले दिन मिल्छ? त्यो सायद कसैलाई थाहा छैन।
एेतिहासिक रूपमा हेर्ने हो भने हाम्रो समाजलाई छोटो स्मरण शक्ति भएको रूपमा देखिन्छ। जसले कुनै समय आफूलाई दासको रूपमा हेर्‍यो, उसको वर्णन गर्छौं। जसले हिजो दबाउन खोज्यो, आज उसकै महानताबारे टिप्पणी गर्छौं। समय शक्तिवान् छ, यो त नेपालको इतिहास र त्यसको सर्वसाधारणमाथि परेको प्रभावबाट छरप्रस्ट हुन्छ। हाम्रो छलफल पनि बढी राजनीतिमै केन्द्रित भएको पाउँछौं।
नेपाललाई संसारसामु नयाँ आविष्कार र सोचहरूले चिनाउनेबारेमा धेरै कम मात्रामा छलफल हुन्छ। त्यसैले नेताहरू मात्रै हैन, सर्वसाधारण पनि तुच्छ भएका छन्। तुच्छ विचारमा अल्मलिरहेका छन् र हेरौं, के हुन्छ भन्ने मानसिकतामा झरिसकेका छन्। गलत पद्धतिको पूर्णरूपमा विरोध हुनुपर्छ भनेर लागेको खासै देखिन्न, नत्र वैद्य समूहलाई संविधानसभामा घुसाउने जुन पहल भइरहेको छ, त्यसविरुद्ध बोल्न कतिजना छौं? नबोलेको कारण त्यै हो- उसलाई समेटेनौं भने उसले फेरि उद्दण्ड मच्चाउँछ, त्रास फैलाउँछ र दु:ख दिन्छ। यही विचारमा सिंगो मुलुक एकमत जस्तै देखिन्छ। हामी डराउँछौं र लाज पचाएर चुपचाप बस्छौं। हामीलाई पनि लाज लाग्नुपर्ने हो।
यही विचारधारामा रहेर बहस गर्ने हो भने एमाओवादीको पनि हालत उस्तै हो। चुनाउमा सर्वसाधारणले दिएको मतको आदर गर्नुको साटो उल्टो सर्वसाधारणमाथि नै आरोप लगाउन पछि परेनन् यस दलका शीर्ष नेताहरू। हार भनेको क्षणिक हो र हारलाई आत्मसात गर्दै सर्वसाधारणसामु जानुको सट्टा उल्टो सर्वसाधारणलाई नै चिढाउनेतर्फ केन्द्रित देखिए, यसको नतिजा सर्वसाधारणबीच हास्यास्पद बन्यो। दल र दिनहुँ पत्रिकामा यसबारे व्यंग्यचित्रहरू बने। पुष्पकमल दाहालको ‘प्रचण्ड’ रूप साता दिनमै चकनाचुर भयो। एक प्रकारको अहम् भावनाले सर्वसाधारणका माझबाट त्यो दल बाहिरिइसकेको थियो विगत केही वर्षमा र चरम भ्रष्टाचारका आरोपहरूले मतपरिणाममा ठूलो धक्का दियो। तर यो कुरा मान्न त्यो दल राजी भएन र अझै त्यो दल अलमलमा परेको देखिन्छ। उहाँहरूलाई एक थोपा लाज लागेको जस्तो देखिन्न। उहाँलगायत उहाँका दलका नेताहरूलाई पनि लाज लाग्नुपर्ने हो।
चुनाउ बिथोल्न सर्वसाधारणलाई चरम पीडा दिने समूहलाई संविधानसभामा हुल्नैपर्छ भनेर कराउने दलहरू देखा पर्दैछन्। नेकपा-माओवादी सामेल नभई संविधान बन्दैन भनेर विदेशी शक्तिहरू बोल्न थालेका छन्। नेपाली कांग्रेस, नेकपा एमालेलगायत मुख्य दलहरूबाट यस्ता अभिव्यक्तिको विरोध हुँदैन। १० दिन बन्द गर्दै त्रास फैलाउने क्रममा कति नेपालीको अप्रत्यक्ष ज्यान गयो होला, कति नेपालीको जनधन नास भयो होला, देशले कति धेरै आर्थिक घाटा भोग्नुपर्‍यो -यी कुराप्रतिको उदासीनता दलहरूको शून्य प्रतिक्रियाबाट झल्किन्छ। कांग्रेस, एमाले र अन्य दलहरू मौनतामै आफ्नो समर्थन देखाउँदैछन्। र, सर्सर्ति हेर्ने हो भने अझै वैद्य समूहलाई आफूतर्फ तान्न दलहरू तँछाडमछाड गर्लान् जस्तो छ। आफ्ना विरोधीलाई गलाउन गलत शक्तिको प्रयोग गर्न यी दलहरू पछि पर्लान् जस्तो देखिन्नन्। गलत कार्य गर्नेलाई पुरस्कृत गर्ने हाम्रो पुरानो शैलीलाई निरन्तरता दिइँदैछ मुख्य दलहरूबाट।
यी ‘शीर्ष’ दलहरूलाई पनि लाज लाग्नुपर्ने हो।
कांग्रेस, एमाले, एनेकपा माओवादीसहित अन्य दलका नेताहरू आफ्नो परिवेशबाट कहिल्यै माथि उठ्न सकेका छैनन्। भ्रष्टाचारमा लिप्त यिनीहरूले समाज परिवर्तनको साटो पुरानै यथास्थितिवादी सोचलाई निरन्तरता दिएका छन् आजसम्म। नेता सप्रिए देश सप्रिन्छ भन्ने नेताहरू आयआर्जन र विलासिताको जीवन खोज्दै हिँडिरहेका छन्।
नेताहरू चरम अहम्भन्दा माथि उठ्न सकेका छैनन् र देशको मायाभन्दा नातावाद, कृपावाद र व्यक्तिवादको बाटोमा हिँडिरहेका छन्। र उनीहरूलाई सर्वसाधारणले समयसमयमा गाधली गरिरहेका छन्, हास्यास्पद बनाइरहेका छन्।
यिनीहरूलाई लाज लाग्नुपर्ने हो, तर त्यस्तो देखिन्न। ‘लाज’ भन्ने शब्दको परिभाषा सायद थाहा छैन, तर सिकाउने कसले?

No comments:

Post a Comment